काठमाडौं । नेपाली काँग्रेसले जाजरकोटसहितको भूकम्प प्रभावित क्षेत्रमा मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ ।
भूकम्प प्रभावित क्षेत्रको स्थलगत गत अवलोकन गरी फर्केको काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको टोलीले शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सो सुझाव दिएको हो । पुसको जाडोमा पीडितहरुको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मंसिरभित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको महामन्त्री थापाले बताए ।
उनले स्थायी रुपमा सिकाई केन्द्रहरु बनाएर भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुको पठनपाठनको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको बताए । महामन्त्री थापाले अस्थायी आवास निर्माणको जिम्मेवारी प्रदेश सरकार र स्थानीय सरकारलाई दिन र त्यसका लागि अवश्यक रकम नागरिकको हातमा तत्काल पुग्ने गरी आवश्यक व्यवस्था गर्न मन्त्रिपरिषद् बैठक बोलाउन पनि सरकारसँग माग गरिएको बताए । टोलीले अस्थायी आवास निर्माणका लागि जनशक्तिको अभाव पूर्तिका लागि सरकारले राजनीतिक दलहरु र संघ, संस्थाहरुसँग मिलेर काम गर्नुपर्ने पनि औंल्याएको छ ।
महामन्त्री थापाले भने, “अब जाडो शुरु भइसकेको छ । अस्थायी टहरा बनाउने काम त्यहाँ करिव करिव ५०/६० हजार बनाउनु पर्नेछ । किनकी त्यति धेरै घरहरु बस्न नमिल्ने अवस्थामा छन । त्यो अस्थायी टहरा बनाउने काम हामीले मंसिरको महिना भित्र यदि सम्पन्न गर्न सकेनौँ भने पुसको जाडो यो त्रिपालले थेग्नै सक्दैन । र, यसले यति ठूलो भयावहस्थितिको सृजना गर्छ । त्यसका लागि अस्थायी टहरा बनाउने कुरा अहिलेका लागि सबैभन्दा महत्वपूर्ण कुरा छ । यो अस्थायी टहरा बनाउने कुरा कस्तो गर्न सकिन्छ भनेर हामीले आफैँले गएर हेर्नुपर्छ भनेर हामीले जाजरकोटको दुई ठाउँमा नलगाड र खलंगामा दुई वटा स्थायी टहरा हामीले २ दिन बसेर दुई वटा अस्थायी टहरा बनाएर हे-र्यौं ।”