मज्जाले बत्ती बाल्न प्राधिकरणको आग्रह, झ्यापझ्याप हुँदैन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने स्पष्ट पारेको छ । आज शनिबारदेखि तिहार सुरु भएको छ । तिहारको समयमा विद्युत् प्रवाहमा कुनै कमी नहुने भएकाले निर्धक्क भएर विद्युतीय सामग्रीको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ ।
विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार तिहारको लक्ष्मीपूजामा सबैभन्दा बढी विद्युतको माग हुने गरेको छ । उनका अनुसार सबैभन्दा पिक आवरको माग भनेको एक हजारदेखि एक हजार दुई सय पचास मेगावाटसम्म माग खपत हुने गरेको छ । उत्पादन एक हजार ८०० मेगावाटसम्म भइरहेकाले तिहारको माग पूर्णरूपमा धान्न सक्ने उनको भनाइ छ ।
प्राधिकरणका प्रवक्ता भट्टराईले भने, “तिहारमा सबैभन्दा बढी माग १२०० देखि १२५० मेगावाटसम्म हुने गरेको छ । विद्युत् उत्पादन क्षमता १८०० मेगावाट भएकाले माग धान्न सकिन्छ । पूर्णरूपमा निर्धक्क भएर बत्ती बाल्दा हुन्छ ।” अहिले दैनिक एक हजार ५० मेगावाट मात्र विद्युतको खपत भएको छ । उनले भने, “प्राधिकरण धेरै विद्युत् खपत होस् भन्ने चाहन्छ, तिहार मनाउनका लागि बत्ती बाल्न कञ्जुस्याइँ गर्नुपर्दैन ।” घरमा विद्युत् खपत गर्दा उच्च गुणस्तरको एमसिबी प्रयोग गर्न पनि उनको आग्रह छ । धेरै बत्तीको लोडले गर्दा एमसिबी बन्द भइरहने भएकाले यसतर्फ पनि सोच्नुपर्ने उनको सुझाव छ ।
केही दिन अवरोध
विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य भएको जनाए पनि अहिले बीच–बीचमा झ्यापझ्याप बत्ती जाने गरेको छ । पूर्व सूचना बिना नै बीच–बीचमा विद्युत् अवरोध हुँदा कार्यालयहरूको काम प्रभावित भएको छ भने उपभोक्ताहरू हैरानीमा परेका छन् । उपभोक्ताहरूले अघोषित रूपमा लोडसेडिङ गरेको आरोप लगाइरहेका छन् ।
नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार केही स्थानहरूमा तिहार र जाडो यामका लागि मर्मतसम्भार गर्नुपर्ने हुँदा केही समय विद्युत् अवरोध भएको साँचो हो । उनले भने, “तिहारको समय र जाडो यामका लागि केही स्थानमा भोल्टेज बढाउनका लागि मर्मत गर्नुपर्ने भएकाले अवरोध भएको छ । शनिबारदेखि यो कार्य सकिन्छ ।” अबका दिनहरूमा माग बढी हुने र माग धान्नका लागि गुणस्तरीय उपकरणहरू राख्नुपर्ने भएकाले मर्मत गर्दा केही समय विद्युत् अवरुद्ध हुने गरेको उनको भनाइ छ । बिहान ७ बजेदेखि १० बजेको समयमा मात्र केही दिन यता विद्युत् अवरोध भएको उनले बताए ।
