आज मंगलबार पनि शेयरबजारमा ओरालो
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) शेयरबजारमा १९.०६ अंकले घटेर १८८९ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यो साता लगातार तेस्रो दिन पनि पहिरो चलेको हो । आजको कारोबारमा ३१ कम्पनीका लगानीकर्ताले मात्रै लाभ लिन सकेका छन् । १९३ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । ९ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन देखिएन ।
कूल एक अर्ब २८ करोड ३१ लाख ८२ हजार रुपैयाँको कारोबार हुँदा सर्वाधिक कारोबार सानिमा जीआइसी इन्स्यूरेन्स लिमिटेडको भएको छ । जसको २० करोड ३७ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको हो । मंगलबारको कारोबारमा अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमा सर्वाधित ५.८६ प्रतिशतको बढोत्तरी भएको छ । बाराही हाइड्रोपावर कम्पनीका शेयरधनीहरूले ७.६४ प्रतिशत गुमाएका छन् ।
शेयर लगानीकर्ताहरूले नेप्से परिसूचक १८०० बिन्दुमा झर्ने हो कि भन्ने चिन्ता गरिरहेका बेला १९०० को अवरोधलाई तोड्दै आज १८८९ बिन्दुमा झर्दा केही दिनयता देखिएको निराशा झनै बढेको छ ।
