नागढुङ्गा-सुरुङमार्ग : हाज्मा ठेक्का छोड्ने तयारी
काठमाडौं । नागढुङ्गा-सुरुङमार्ग निर्माण सम्पन्न हुनै लाग्दा स्थानीयले अनेक माग राखेर निर्माणमा अवरोध गर्ने, तर सरकारले समस्या समाधान नगर्ने प्रवृति देखिएपछि निर्माण कम्पनी हाज्माले ठेक्का छोड्ने तयारी थालेको छ ।
दुई हजार ६८८ मिटर मुख्य सुरुङमार्गको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसक्दा पनि सुरुङमार्गको काठमाडौंतर्फका स्थानीयले अवरोध जारी राखेका हुन् । हाल चन्द्रागिरी नगरपालिका-१ दहचोक टोटीटोलका स्थानीयले सुरुङमार्गको प्रवेशद्वारनजिक करिब ७ मिटर लम्बाइ जमिन भासिएको भन्दै असोज २० गतेदेखि निर्माणकार्य ठप्प पारेका छन् ।
अवरोधकर्ताहरूले सुरुङमार्ग निर्माणमा प्रयोग भएका सवारीसाधन समेत चल्न दिएका छैनन् । ४ दिनदेखि निर्माण ठप्प हुँदा दैनिक ज्यालादारीमा काम गरिरहेका मजदुरहरू कामविहीन भएका छन् । यही भ्वाङलाई देखाएर स्थानीयले सुरुङमार्गको प्रवेद्वारबाट ५०० मिटरसम्मका १० घर तत्काल स्थानान्तरण गर्न माग राखेका छन् । यो माग सहित भासिएको स्थानको माटो जाँच गर्ने सहमति भए पनि यसअघि नै स्थानीयका अनेकन माग पूरा गर्दागर्दै हैरानी खेपेको जापानी निर्माण कम्पनी हाज्माका अधिकारीहरूले सुरुङमार्गको ठेक्काबाटै हात झिक्ने मनस्थिति बनाएका हुन् ।
