प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीन फिङबीच भेटवार्ता सम्पन्न भएको छ। चीनको साताव्यापी भ्रमणका लागि शनिबार चीनको हाङ्जाओ आइपुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्ट रुपमा छलफल गरेका थिए ।
वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति भएको छ।
यसैगरी दुवै नेताबीच एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार राष्ट्रपति सीले वार्तामा नेपालको आर्थिक, सामाजिक विकासमा खुला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएको छ। प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधिमण्डलसँग सामूहिक रुपमा गरेर एक घण्टा लामो वार्ता भएको थियो ।