दही चिउराको सांस्कृतिक महत्वमाथि समाजशास्त्री घिमिरेको विवेचना

भक्तपुर । समाजशास्त्री सुमन्त घिमिरेले असार १५ गते दही चिउरा खानेको धार्मिक, सांस्कृतिक महत्व गहन रहेको विवेचना गरेका छन् ।
रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा समसामयिक विषयमा आयोजना गरेको संवाद कार्यक्रममा उनले कृषि आर्थिक विकासका लागि महत्वपूर्ण भएपनि नेपालमा अझै आकाशको भरमा खेती गर्नुपर्ने अवस्था रहनु विडम्बना भएको बताए ।
घिमिरेले नेपालमा कृषिको विकास नहुनुमा राज्यको नीति नै खराब भएकाले यस क्षेत्रको विकासका लागि जमीनको चक्लाबन्दी गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, “मानव जीवनमा धन र धान्यको महत्व रहेको छ । अन्न भनेको जीवन धान्न मात्र नभएर धार्मिक कार्य जस्तै यज्ञयज्ञादिमा समेत प्रयोग हुन्छ । विसं १९७८ मा कृषि अड्डा खडा गरेर नेपालले धानचामल निर्यात गरेको इतिहासबाट आज हामी अर्बौ रुपैयाँको खाद्यान्न आयात गर्नु विडम्बनाको विषय हो ।”
समाजशास्त्री घिमिरेले नेपाली समाजमा ऋतुअनुसार भोजन ग्रहण गर्ने महत्व रहेकाले जनै पूर्णिमामा क्वाँटी, माघे संक्रान्तिमा घिउचाकु, तिलौरा, साउन पन्ध्रमा खीर खाने चलनजस्तै असार पन्ध्रमा दही चिउरा खाने प्रचलन रहेको चर्चा गरे ।
उनले साधारणतया असार महिना ग्रीष्मयाममा पर्ने र रोपाइँ कार्य सकेर थकित अवस्थाबाट पार पाउन किसानहरूले दही जसमा प्रोटिनलगायत अन्य खनीजपदार्थ रहन्छ । त्यस्तै चिउरामा कार्बोहाइड्रेट पाइने हुनाले असार पन्ध्रमा दही चिउरा खानु स्वास्थ्यको दृष्टिकोणले लाभकारी भएको प्रसंगले उल्लेख गरे ।
घिमिरेले भने, “नेपालमा धर्म, कर्म गर्ने प्रचलन थियो, तर पुँजीवादी व्यवस्थाको प्रभावका कारण अहिले त्यो हराउँदै गएकाले समाजमा एक अर्कालाई मद्दत र सहयोग गर्ने भन्ने भावना हराउँदै गएको छ । पहिले एक अर्कालाई कृषि पर्म र कर्म गर्ने प्रचलन थियो । आज त्यो परम्परा पनि बिर्सदै गएको छ ।” उनले कृषिको समग्र विकासका लागि राज्यले समय सुहाउँदो नीतिको तर्जुमा गरी किसानलगायत राष्ट्रको आर्थिक अवस्था सुधार्नुपर्ने खाँचो पनि औंल्याए ।