लिङ्देनको चुनौती : “भ्रष्टाचारको छानबिन मबाट सुरु गरे हुन्छ”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार काण्डमा सबै ठूला दलका नेताको संलग्नता रहेको आरोप लगाएका छन् ।
राप्रपाले बिहीबार भ्रष्टाचारविरुद्ध काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा लिङ्देनले ठूला दलको संलग्नता भएका कारण जतिसुकै ठूला भ्रष्टाचारका मुद्दा सार्वजनिक भए पनि आयोग गठन गर्ने वा अनुसन्धान गर्ने नाममा फासफुस हुने गरेको टिप्पणी गरे ।
उनले भने, “सबै प्रकारका ठूला भ्रष्टाचार काण्डमा सबै दलको नेताको संलग्नता छ । सबै ठूला दलका नेता संलग्न भएकै कारण जतिसुकै भ्रष्टाचारका मुद्दा सार्वजनिक भएपनि अन्तत्वगत्वा आयोग गठन गर्ने, अनुसन्धान गर्ने नाममा फासफुस भएका छन् । सबै भ्रष्टाचार काण्डमा सर्वदलीय सहमति जस्तो छ ।”
उनले नक्कली तथा कमसल पुल, सडक बनाएर लाइसेन्सको ठेक्कापट्टामा भ्रष्टाचार हुँदै आएकोमा अब त नागरिक समेत नक्क्ली बनाएर भ्रष्टाचार गर्न थालेको उल्लेख गरे ।
अध्यक्ष लिङ्देनल भने, “आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला । यो भन्दा दुःखदायी र लज्जास्पद विषय केही पनि हुँदैन । नेपालको शिर झुक्ने काम भएको छ । कति अर्ब, खर्ब, करोड भ्रष्टाचार भयो भन्ने मात्र होइन यो, राज्यविरुद्धको अपराध हो । त्यसैले यो अपराधमा कसैले पनि उन्मुक्ति पाउनुहुँदैन ।”
अध्यक्ष लिङ्देनले भने, “भ्रष्टाचारको छानबिन म बाट सुरु गरे हुन्छ । म पनि ४० दिन उपप्रधानमन्त्री हुँदा खरबभन्दा बढी बजेट भएको मन्त्रालयमा थिएँ । भ्रष्टाचारविरुद्धको कुरा गर्दा विक्रम पाण्डेको सिँक्टा सिँचाईको कुरा उठ्ने गरेको छ ।” पाण्डेको सन्दर्भमा भ्रष्टाचार देखिएको अवस्थामा पार्टीबाट निष्कासन गर्ने बताए ।