भारत भ्रमणमा देश हितलाई केन्द्र राखेर कुरा राख्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा आफूले देशको हितलाई केन्द्रमा राखेर कुरा राख्ने बताएका छन्।
प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोत्तरमा भाग लिँदै प्रचण्डले नेपालले वार्ताको क्रममा एक इन्च पनि जमिन नछोड्ने र अरुको एक इन्च पनि दाबी नगर्ने बताए। उनलाई नेकपा एमालेका सांसद रघुजी पन्त र नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले भारत भ्रमणलाई लिएर प्रश्न गरेका थिए। उनीहरुको प्रश्नमा जवाफ दिँदै प्रचण्डले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।
‘यी सबै गम्भीर विषय इपीजीदेखि जमिनसँग सम्बन्धित विषयमा प्रष्ट छौं। हाम्रो एक इन्च जमिन पनि छाड्न सकिँदैन। अरुको एक इन्च चाहिँदैन। यसमा हामी एकमत नै छौं, ’ उनले भने। भारतसँग यही धारणामा रहेर कुरा गर्ने पनि प्रचण्डले बताए। उनले इपीजी प्रतिवेदनबारे भारतसँग कुरा गरिसकेपछि मात्रै भन्न सकिने भन्दै भ्रमणका क्रममा भने नेपालको राष्ट्रिय हित अखण्डताका विषयमा सम्झौता हुन नदिइने बताए।
एमाले सांसद पन्तले नेपाल(भारत सम्बन्धका विविध पक्षमा सुझाव दिइएको प्रबुद्ध समूहको प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्ने कुरा उठाउनुहुन्छ कि हुँदैन भनी प्रश्न गरेका थिए। उनले मिचिएको भूमि फिर्ता तपाईंको कार्यसूचीमा परेको छ कि छैन ? भनेर प्रश्न गरेका थिए। त्यस्तै कांग्रेस सांसद बडुले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषय समावेश छ कि छैन भनी प्रश्न गरेका थिए।