अवैध तवरले वैदेशिक रोजगारीमा गएकालाई वैधता दिने तयारीमा सरकार

काठमाडौं । अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकलाई एक पटकका लागि वैधता दिने तयारी थालेको छ ।
काठमाडौंमा मङ्गलबार आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमिकको अधिकार विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अवैधानिक बाटो हुँदै नेपाली नागरिकहरु विभिन्न मुलुकमा पुगेको र एक पटकका लागि भने सरकारले वैधता दिनेगरी आफ्ना काम कारबाही अघि बढाएको बताए । वैदेशिक रोजागारीमा जाँदा पनि अवैधानिक बाटो हुँदै जाने श्रमिकहरु बढी शोषणमा परेको उनको भनाइ छ ।
‘‘महिलाहरुको गन्तव्य मुलुकको चोरी बन्द भएको छ, तर महिलाहरु विभिन्न मुलुकमा पुगेका छन्, अनि शोषण भएको छ । बाहिर वैदेशिक रोजगारीमा गएका महिलाहरु सबैभन्दा ठूलो शोषण भनेको जब फरमल नभर्इ इन्फरमल तवरबाट वैदेशिक रोजगारीमा गएका छन्, सबैभन्दा पहिलो असुरक्षा त्यहाँबाट नै सुरु हुन्’,’ मन्त्री भण्डारीले भने, ‘‘नेपाल सरकारको प्रयास विभिन्न डिप्लोम्याटिक च्यानलबाट जुन मुलुकमा श्रम स्वीकृति छ, त्यहाँका निकायसँग कुरा गरेर अवैधानिक रुपमा गएकाहरुका लागि एक पटक लिगलाइज गर्ने बाटोमा हामी लागेका छौँ, त्यो क्याम्पेनकै रुपमा लाग्छौँ । अहिले श्रम स्वीकृति नभएर कति विद्यार्थी, भिजिट भिसामा छिर्ने र काम गर्ने गरिरहका छन्, त्यसका लागि केही लिगल कुराहरु छन्, कुनैपनि भिसामा गएका नेपालीहरु काम गरिरहेका छन् भने तिनलाई पनि श्रम स्वीकृति दिने तयारीमा हामी छौँ ।’’