ढाकाकुमारको पक्षमा सर्वोच्चको अल्पकालीन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। श्रेष्ठले आफूमाथि विनाप्रमाण आफूमाथि रास्वपा र संसद सचिवालयले कारवाही गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए ।
उनले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको ‘कोर टिम’का लागि बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो। दुई जनाबीचको उक्त फोनसंवाद बाहिरिएपछि रास्वपाले साधारण सदस्यसमेत नरहने गरी श्रेष्ठमाथि कारवाही गरेको कारबाही गरेको थियो। रास्वपाको पत्रको आधारमा सभामुख देवराज घिमिरेले पनि श्रेष्ठलाई सांसद पदबाट हटाएका थिए ।
सांसद् पदबाट हटाइएपछि उनले पार्टीको केन्द्रीय आचरण तथा अनुशासन समितिलगायतलाई विपक्षी बनाएर मुद्दा हालेका थिए। सर्वोच्चले दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ।