एचआइभी संक्रमितलाई मानवअधिकारबाट वञ्चित नगर्न आग्रह
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले एचआइभी संक्रमितलाई मानवअधिकारको हकबाट वञ्चित नगर्न आग्रह गरेको छ। आयोगले एचआइभी संक्रमितको मानवअधिकारको अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदनमा संक्रमितले मानवअधिकारको हकबाट वञ्चित हुनु परेको उल्लेख गरेको छ।
आयोगका कायममुकायम सचिव मुरारीप्रसाद खरेलले संक्रमितहरूको जीवन र मर्यादा सम्मानित नरहेको आफूले पाएको बताए। उनले अझ चरम गरिबीको रेखामुनि रहेका संक्रमितहरूको मानव अधिकार अवस्था दयनीय रहेको पाइएको बताए।
उनले एचआइभी संक्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितामा र आश्रित सन्तानको लालनपालन, शिक्षा जस्ता आवश्यकता पूर गर्ने समस्या रहेको बताए। ‘राज्यका तीनै तहको औषधि वितरणमा समस्या छैन। संक्रमितलाई रोजगार, शिक्षा र समाजिक सहभागितमा समस्या रहेको छ,’ उनले भने , ‘संक्रमित बालबालिकालाई भर्ना नलिएको, संक्रमितको शल्यक्रिया उपचार पनि नगरेको पाइयो।’
प्रतिवेदनमा पुरुषको तुलनामा संक्रमित महिलाको मानव अधिकार अवस्था थप जटिल रहेको जनाइएको छ। उनले भारतमा काम गर्न जाने संक्रमितले सजिलै औषधि नपाएको समेत बताए। कामु सचिव खरेलले संक्रमितलाई समाजले सहजै स्वीकार गर्न नसकेको, विभेद र लाञ्छनामा परेको भन्दै स्थानीय तहले आफ्नो पालिकामा कति संक्रमित छ भनेर तथ्यांक लिन नसकेको पाएको बताए।
