विदेशबाट मतदानको व्यवस्था गर्न विकल्प खोजिँदै

काठमाडौं । विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था गर्न विभिन्न विकल्पसहित निर्वाचन आयोगले विद्यमान कानुनमा संशोधनका लागि प्रस्ताव अघि बढाएको छ। निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर प्रदान गर्न विभिन्न विकल्पसहित सरकारलाई कानुन संशोधनका लागि सुझाव दिएको छ।

सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन आदेश दिइसकेको र प्रमुख राजनीतिक दलहरूले पनि यस विषयमा प्रतिबद्धता व्यक्त गरेकाले अब हुने निर्वाचनदेखि नै यसको कार्यान्वयन गर्ने तयारीमा आयोग रहेको छ।

आयोगका कानुन हेर्ने सहसचिव मानबहादुर बस्नेतका अनुसार गृह मन्त्रालयमा कानुन संशोधनका लागि पठाइएको प्रस्तावमा बाह्य (विदेशमा रहेका मतदाताको मतदान र अन्तरजिल्ला) मतदानको व्यवस्था गरिएको छ। बाह्य मतदानका लागि मूल मतदाता नामावलीमा नाम भएका मतदाताले आयोगले खुलाएका बखत बेग्लै आवेदन दिई बाह्य मतदाताको सूचीमा समावेश हुनुपर्नेछ।

बाह्य मतदातामा नाम समावेश गरेपछि मूल स्थायी मतदाता रहेको स्थानमा मतदान गर्न पाइनेछ। बाह्य मतदाताका लागि बेग्लै निर्वाचन अधिकृतको प्रबन्ध पनि गरिने आयोगले जनाएको छ।

“हामीले विकल्पसहित कानुन संशोधन गर्न सरकारलाई भनेका छौं। एकीकृत निर्वाचन कानुन संशोधनका लागि विगतमै सरकारलाई मस्यौदा दिइसकिएको छ। अब बाह्य मतदानको विषय थप भएको छ”, सहसचिव बस्नेतले भने, “कानुन संशोधन भए पनि आवश्यक प्रविधि र पूर्वाधार विकासका लागि आयोगले तयारी गर्नेछ।”

सहसचिव बस्नेतले  इन्टरनेट तथा प्रविधिमा आधारित रहेर विदेशमा रहेका नेपालीले आफू बसेकै स्थानबाट सुरक्षित डिजिटल माध्यम प्रयोग गरी मतदान गर्न सकिने पहिलो विकल्प दिइएको छ। दोस्रो विकल्पमा हुलाकमार्फत मतदान गर्ने व्यवस्था छ। यसमा मतदातालाई मतपत्र पठाउने र मतदानपछि मतपत्र हुलाकबाटै सम्बन्धित निर्वाचन कार्यालयमा फिर्ता पठाउने व्यवस्था गर्न सकिनेछ। यी सबै विधिमध्ये नेपाल सरकारले रोजेको विकल्पमा मतदान गराइनेछ तर विदेशबाट नेपालीले मतदाता गर्न पाउनका लागि सम्बन्धित मुलुकमा रहेको वैध भिसा आवश्यक पर्ने सहसचिव बस्नेतले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर