मंसिर १६ देखि दशौँ राष्ट्रिय खेलकुद

काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा हुनेछ । समापन पनि सोही रंगशालामा मंसिर २७ गते हुनेछ । यद्यपि प्रतियोगिताअन्तर्गतका खेलहरू भने मंसिर ८ गतेदेखि नै शुरु हुनेछन् ।

उद्घाटन समारोहअघि विभिन्न १० खेल सञ्चालन गरिने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगितामा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ ९एनआरएनए० गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगितामा ३२ खेलका ३८४ इभेन्ट्स सञ्चालन हुनेछन् । प्रत्येक टोलीबाट ६६० जना सहभागी हुनेछन् । जसमा ३१४ महिला र ३४६ पुरुष खेलाडी रहनेछन् । त्यस्तै, प्रत्येक टोलीबाट ८१ प्रशिक्षक र ४१ व्यवस्थापक सहभागी हुनेछन् ।

प्रतियोगिताका खेलहरू कर्णालीसहित सात जिल्लामा सञ्चालन गरिनेछन् । सुर्खेतमा २३, नेपालगञ्जमा दुई, बर्दियामा दुई, दैलेखमा एक, कालीकोटमा एक, सल्यानमा दुई र पश्चिम रुकुममा एक खेल आयोजना गरिनेछ । प्रतियोगितामा कुल एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ काँस्य पदक रहेका छन् ।

यसपटक व्यक्तिगत विधाका स्वर्ण पदक विजेतालाई २० हजार, रजत विजेतालाई १५ हजार र काँस्य विजेतालाई आठ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, टिम विधातर्फ स्वर्ण विजेतालाई १५ हजार, रजत विजेतालाई १० हजार र काँस्य विजेतालाई आठ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्काअनुसार यसपटक पहिलोपटक रजत र कांस्य पदक विजेतालाई समेत नगद पुरस्कार प्रदान गर्न लागिएको हो ।

प्रतियोगिताको प्रचारप्रसार तथा तयारीका विषयमा जानकारी दिन राष्ट्रिय खेलकुद परिषद्ले सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर