भाइटीकाको दिन सशस्त्र प्रहरी बलको निःशुल्क बस सेवा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले तिहारमा भाइटीकाको दिन आज काठमाडौँ उपत्यका र भक्तपुरमा सर्वसाधारण यात्रुलाई सहज आवतजावतका लागि ३ वटा बस निःशुल्क रूपमा सञ्चालन गरेको छ ।
सार्वजनिक यातायातका साधन अत्यन्तै न्यून रूपमा चल्ने भएकाले सर्वसाधारण नागरिकई आवतजावतमा सुविधा पुर्याउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस सेवा सञ्चालन गरेको हो । सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ र भक्तपुरमा सञ्चालन गर्ने निःशुल्क बस सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने व्यवस्था मिलाइएको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
यस्तै, प्रधान कार्यालय स्वयम्भुदेखि भक्तपुरसम्म चल्ने बसले स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानो ठिमी, पुरानो ठिमी, सल्लाघारी, लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी, स्वयम्भूसम्म सेवा दिनेछ । दशैँमा पनि सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्दै नागरिकलाई सहज यात्राको सुविधा दिलाउन सशस्त्र प्रहरी बल, नेपालले निरन्तर निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
