आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोही मौसमी प्रणालीका कारण मधेस, कोशी र बागमती प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई भूभागको मौसम सफा रहनेछ। यसै क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। यसैगरी, आगामी शुक्रबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
