सुनकोशी–मरिण डाइभर्सनको नयाँ ठेक्का प्रक्रिया रद्द
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण लगायतका संरचना बनाउन अघि बढाइएको नयाँ ठेक्का प्रक्रिया रद्द भएपछि आयोजना निर्माणको काम थप अन्योलमा परेको छ ।
आयोजनाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको बोलपत्र प्रक्रिया रद्द गरेको जनाएको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा २ मा रहेको व्यवस्थालाई आधार बनाउँदै बोलपत्र प्रक्रिया रद्द गरिएको सूचनामा उल्लेख छ ।
आयोजनाका सूचना अधिकारी तथा वरिष्ठ डिभिजनल इन्जिनियर अशोक गौतमले नयाँ ठेक्का प्रक्रिया रद्द भएको बताउनुभयो । तर, प्रक्रिया रद्द हुनुको कारणबारे आफूलाई पनि स्पष्ट जानकारी नभएको उहाको भनाइ छ । ‘ठेक्का प्रक्रिया रद्द भएको छ । किन रद्द भयो भन्ने विषयमा म पनि बुझ्दै छु,’ उहाँले भन्नुभयो ।
आयोजनाका अनुसार उक्त ठेक्काका लागि छ निर्माण कम्पनीले आर्थिक प्रस्तावसहित बोलपत्र दर्ता गराएका थिए । तीमध्ये तीन कम्पनीको प्राविधिक प्रस्ताव स्वीकृत भएको थियो । चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन बेइजिङ, अन्नेग आरसिसी जेभी र सिन्नोहाइड्रो कर्पोरेसन चीनको आर्थिक प्रस्ताव खोल्ने तयारी गरिएको थियो । आयोजनाले असोज २७ गते सूचना जारी गरी कात्तिक १६ गते आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको थियो ।
यसअघि सुनकोशी नदीमा बाँध र विद्युत गृह निर्माणको जिम्मा पाएको पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएपछि नयाँ ठेक्का आह्वान गरिएको हो । पटेल–रमण जेभिले सम्झौता अनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले कात्तिक २४ गते सूचना जारी गर्दै ठेक्का सम्झौता तोडेको थियो ।
आयोजनाका अनुसार पटेल–रमण जेभिले सम्झौता अवधिको करिब ६१ प्रतिशत समय बितिसक्दा निर्माणको भौतिक प्रगति करिब ११ प्रतिशत मात्रै पुगेको थियो । २०७९ पुसमा चार वर्ष सात महिनाभित्र काम सम्पन्न गर्ने गरी १४ अर्ब सात करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । पटेल–रमण जेभीसँगको ठेक्का सम्झौता तोडिएपछि बाँध निर्माणस्थलमा निर्माण गतिविधि ठप्प जस्तै बनेको छ । नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला रद्द भएपछि आयोजनाको आगामी काम बारे अन्योल बढेको छ ।
