फ्रान्समा युवा आन्दोलन चर्किँदै गएपछि पेरिसमा कर्फ्यु
काठमाडौं । फ्रान्समा युवा आन्दोलन चर्किँदै गएपछि विगत केही दिनदेखि अधिकारीहरूले राजधानी पेरिसका केही भागसहित धेरै सहरमा रातको कर्फ्यु लगाएका छन्। पेरिस प्रहरीका अनुसार केही दिनदेखि प्रदर्शनकारीहरू भेला भएका प्लेस डे ला रिपब्लिक र ल’अल्ली किनमेल क्षेत्रहरूमा स्थानीय समय अनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागु हुनेछ।
सहरको केन्द्रका अन्य धेरै भागमा पनि अनधिकृत भेलामा प्रतिबन्ध लगाइएको छ। दक्षिणी फ्रान्सका मार्सेली, बोर्डो, नाइस र लियोन, साथै उत्तरी सहर लिल र अन्य सहरमा आंशिक कर्फ्यु घोषणा गरिएको छ। यसअघि गृहमन्त्री लरेन्ट नुनेजले केही सहर प्रहरीको नियन्त्रणबाहिर गएको स्वीकार गरेका थिए। गत महिना विद्यार्थीले स्कुलको अवस्था सुधारको माग गर्दै थालेको विरोध प्रदर्शन अहिले देशव्यापी बनेको छ।
अहिले महँगीसहित देशका अन्य मुद्दा पनि आन्दोलनकारीले उठाएका छन्। अधिकारीहरूका अनुसार अहिलेसम्म २,५०० भन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको छ। समाचार एजेन्सी एएफपीका अनुसार, विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा लगभग १,००० प्रहरी अधिकारी घाइते भएका छन्।
