जापानलाई जित्दै भारत विश्वको चौंथो अर्थ शक्ति बन्दै

काठमाडौं । भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ। अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ। जापान भने छैटौँ स्थानमा झर्ने अपेक्षा गरिएको छ।

नाममात्रको जीडीपीका आधारमा जापान यस वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र रहनेछ। तर, सन् २०२७ मा भारत र बेलायत दुवैले जापानलाई पछाडि पार्ने आईएमएफको प्रक्षेपण छ। हाल अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो र जर्मनी तेस्रो स्थानमा छन्।

भारतको आर्थिक वृद्धिदर बलियो रहनु र जापानको अर्थतन्त्र सुस्ताउनु यो परिवर्तनका प्रमुख कारणका रूपमा देखिएका छन्। आईएमएफले सन् २०२६ का लागि भारतको आर्थिक वृद्धिदरको अनुमान बढाएर ७ प्रतिशत पुर्‍याएको छ।

विश्वव्यापी आर्थिक अवरोध र ऊर्जा मूल्यमा आएको उतारचढावबीच पनि भारतले आर्थिक वृद्धि कायम राखेको छ। आईएमएफका एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक कृष्ण श्रीनिवासनले इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण ऊर्जा मूल्यमा परेको असर सामना गर्न भारत तुलनात्मक रूपमा बलियो अवस्थामा रहेको बताएका छन्। बलियो आर्थिक वृद्धि, वित्तीय अनुशासन र पर्याप्त विदेशी मुद्रा सञ्चितिले भारतलाई ऊर्जा मूल्यको धक्का सहन सहयोग गरेको उनको भनाइ छ।

यसको विपरीत, जापानको आर्थिक वृद्धिदर सन् २०२६ मा शून्य दशमलव ७ प्रतिशतमा सीमित हुने आईएमएफको अनुमान छ। वृद्ध जनसङ्ख्या, संरचनात्मक समस्या र ऊर्जा मूल्यवृद्धिले जापानको अर्थतन्त्रमा दबाब बढाएको छ।

सन् २०२२ को वसन्तयामदेखि बढिरहेको उपभोक्ता मूल्यमा ऊर्जा महँगिएपछि थप चाप परेको छ। मुद्रास्फीतिको दबाबले जापानको केन्द्रीय बैंकलाई तीन दशकयताकै उच्च ब्याजदरमा पुर्‍याएको छ। अमेरिकी डलरको तुलनामा येनको मूल्य गर्मीयाममा ४० वर्षयताकै न्यून स्तरमा झर्दा आयात लागतसमेत बढेको छ।

कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको लगानीले जापानलाई फाइदा पुर्‍याए पनि एसिया–प्रशान्त क्षेत्रका अन्य अर्थतन्त्रको तुलनामा उल्लेखनीय बढी लाभ नपुगेको श्रीनिवासनले बताएका छन्। पछिल्लो समय एआई कम्पनीहरूको नाफाबारे शङ्का बढ्दा प्रविधि कम्पनीका सेयरमा गिरावट आएको छ। त्यसको असर जापानको प्रमुख सेयर बजार सूचक निक्केईमा पनि परेको छ। बिहीबार निक्केई सूचक करिब ५ प्रतिशत घटेको छ। आईएमएफको प्रक्षेपणले भारतको आर्थिक विस्तार र जापानको सुस्तताबीच विश्व अर्थतन्त्रमा एसियाली मुलुकहरूको स्थान परिवर्तन हुन सक्ने देखाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर