आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आर्थिक अभावका कारण दसैंजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका छन्। बडादसैंको शुभकामना सन्देश जारी गर्दै उनले देशको समृद्धि, सुशासन र आमनागरिकको सुखद जीविकोपार्जनका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले दसैंले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्ने उल्लेख गर्दै सबैको घरआँगनमा खुसी, उमङ्ग र उत्साह छाओस् भन्ने कामना गरेका छन्।

‘आर्थिक कारणले नै दसैंजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौं,’ उनले सन्देशमा भनेका छन्,‘आर्थिक सम्पन्नताको बाटोमा यथोचित पाइला अघि बढाउँदै देशलाई सुशासनको मार्गमा हिँडाउन वर्तमान सरकार अहोरात्र खटिइरहेको जानकारी पनि गराउन चाहन्छु।’

बालेनले दसैंलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्वका रूपमा व्याख्या गरेका छन्। ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले सानालाई माया र ठूलालाई आदर गर्ने नेपाली संस्कृतिको प्रतिबिम्ब प्रस्तुत गर्ने उनको भनाइ छ।

उनले विभिन्न विपद् र सङ्कटबीच पनि नेपालीले आफ्नो मौलिक परम्परा र सांस्कृतिक मूल्य मान्यताको संरक्षण गर्दै चाडपर्व मनाउँदै आएको स्मरण गरेका छन्।

यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाको शोक ताजा रहेकै अवस्थामा दसैं आएको उल्लेख गर्दै बालेनले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

‘ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छु। सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले भनेका छन्। विपद्का कारण विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारी पनि उनले दिएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर