भारत र चीनबिच लद्दाखलाई लिएर गर्मागर्मी विवाद
काठमाडौं । चीनले लद्दाखका २८ स्थानलाई आफ्नो क्षेत्र दाबी गरेको छ। भारतले ती २८ स्थानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि चीनले कडा आपत्ति जनाएको हो।
चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार भनेकी छन्, ‘भारतले एकतर्फी र गैरकानुनी तरिकाले बनाएको तथाकथित ‘लद्दाख केन्द्र शासित प्रदेश’लाई कहिल्यै मान्यता दिएको छैन र तथाकथित ‘मानक नाम’ (स्ट्यान्डर्ड नेम्स) घोषणाप्रति कडा विरोध गर्छौँ।’
भारतको गृह मन्त्रालयले यही अक्टोबर २ तारिख लद्दाखका २८ स्थानका लागि ‘मानक नाम’ घोषणा गर्ने तथा तिनलाई आधिकारिक नक्सामा समावेश गर्ने निर्णय गरेको हो। ती स्थानमा गोगरा र हट स्प्रिङ्सजस्ता क्षेत्र पनि पर्छन्। जहाँ २०२० मा भारतीय र चिनियाँ सेनाबिच झडप भएको थियो।
यस विषयमा गरिएको प्रश्नमा चिनियाँ प्रवक्ता माओ निङले भनेकी छन्, ‘यो कदम अवैध र अमान्य छ। यसले चीन-भारत सीमाको पश्चिमी भागमा सम्बन्धित क्षेत्रहरू सधैँ चीनको हिस्सा रहेको तथ्यलाई परिवर्तन गर्न सक्दैन।’
यसैबिच लद्दाखका विषयमा भारतले पनि जवाफ दिएको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले लद्दाख भारतको अभिन्न अंग भएको बताएका हुन्। उनले भनेका छन्, ‘केन्द्र शासित प्रदेश लद्दाख भारतको अभिन्न अंग हो र चीनको कुनै दाबीले यो तथ्य बदल्न सक्दैन।’
भारतले किन २८ ठाउँको नाम तोक्यो ?
भारतको गृह मन्त्रालयले अक्टोबर २ मा लद्दाखका २८ स्थान र क्षेत्रको आधिकारिक नामकरण गर्यो। भारतले यो निर्णय सन् २०२३ मा चीनले अरुणाचल प्रदेशका क्षेत्रहरूको नाम परिवर्तन गरेको प्रतिक्रियामा गरेको हो। चीनले अरुणाचल प्रदेशलाई ‘जाङनान’ भन्ने गरेको छ, जसको अर्थ दक्षिणी तिब्बत हो।
संवेदनशील क्षेत्र गोगरा र हट स्प्रिङ्स
भारतले तोकेका स्थानमा गोगरा र हट स्प्रिङ्स पनि हुन्। जुन पूर्वी लद्दाखका संवेदनशील क्षेत्र हुन्, जहाँ भारतीय र चिनियाँ सेनाबिचको तनाव उच्च छ। भारतीय सेनाले यी क्षेत्रमा गस्ती पनि गर्छन्। मे २०२० मा पूर्वी लद्दाखमा भारत र चीनबिचको सीमा विवाद बढेको थियो। मे ५ मा पाङ्गोङ तालनजिकै दुई देशका सैनिकबिच हिंसात्मक झडप भएको थियो। २०२० कै जुन महिनामा गलवान उपत्यकामा फेरि भारतीय र चिनयाँ सेनाबिच हिंसात्मक झडप भयो।
गलवान उपत्यकामा झडप हुँदाको दृश्य
यसपछि दुई देशले सीमामा तनाव कम गर्न र आफ्ना सेना फिर्ता बोलाउन वार्ता सुरु गरे। यसपछि सैनिक पछि हट्ने प्रक्रिया २०२२ मा सुरु भयो।
कुन कुन हुन् ती २८ स्थान ?
भारतले अन्तिम रूप दिएका २८ नाम पहाड, घाट, हिमनदी, जमिन, उपत्यका र पानीका स्रोतसँग सम्बन्धित छन्।
पहाड र चुचुरा : अतिशा गिरी, कनिष्क चुचुरो, करुण पिर पर्वत, मार्तण्डा गिरी, द्राक कार्पो, जोल्मोरी, रिन्चेन जाङ्पो, शाक्यश्री गिरी, मार्पा लोत्सावरी, मिलारेपा काङ्डी, शिव री, जोरावर चुचुरो र महेश्वरी।
घाट र हिमनदी : चापचिङ्गल घाट, शाचमिरिक घाट, पारपिक हिमनदी र स्कामारी हिमनदी।
भूमि क्षेत्र : ब्राङ्सा, कुक्सेल, देहरा कम्पास, गोग्रा, कुमारायण पोइन्ट, पाङलुङ र शामल लुङपा।
उपत्यका र पानीका स्रोत : श्कोर्गा उपत्यका, गुरु रिन्पोछे ताल, याङ्पा नदी र तातो पानीको मुहान।
