सयौँ यात्रुको ज्यान जोगिनुमा एउटा टिभी कार्यक्रम !

काठमाडौं ।  दुबईबाट इजरायलका लागि उडेको ‘फ्लाईदुबई’को विमानमा आकासमै भएको आक्रमणपछि सयौँ यात्रुको ज्यान जोगिनुमा एउटा टिभी कार्यक्रमको अनौठो भूमिका रहेको खुलेको छ।

विमान तीव्र गतिमा तल खसिरहेका बेला ककपिटमा पुगेर विमानलाई सन्तुलनमा ल्याउन मद्दत गर्ने इजरायली यात्रु यानिभ हायुनले टिभीमा दुर्घटनासम्बन्धी कार्यक्रम हेरेकै भरमा आफूले त्यसो गर्न सकेको बताएका छन्। सह-पाइलटले मुख्य पाइलटमाथि छुरा प्रहार गरी विमान खसाल्न खोजेपछि हायुन अन्य यात्रुहरूसँगै ककपिटभित्र छिरेका थिए।

आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि हायुनले तत्कालै विमानको कन्ट्रोल पछाडितर्फ तानेका थिए, जसले गर्दा खसिरहेको विमान केही सम्हालिएको थियो। त्यसपछि विमानमा यात्रुका रूपमा रहेका अन्य तालिमप्राप्त पाइलटले नियन्त्रण सम्हालेका थिए।

प्रधानमन्त्रीसँग रोचक संवाद
इजरायल सुरक्षित अवतरण गरेपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हायुनसँग कुरा गर्दै ‘तपाईंलाई विमान चलाउन आउँथ्यो र?’ भनी सोधेका थिए।

जवाफमा हायुनले भने, ‘म टेलिभिजनमा एयर क्र्यास इन्भेस्टिगेसन भन्ने कार्यक्रम हेर्ने गर्छु, साँच्चै भन्दैछु। मैले ह्यान्डल तानेपछि विमान केही सिधा भयो, त्यसपछि पाइलटले आएर मबाट विमानको नियन्त्रण लिनुभयो।’

के हो ‘एयर क्र्यास इन्भेस्टिगेसन’?
‘एयर क्र्यास इन्भेस्टिगेसन’ अर्थात अमेरिकामा ‘एयर डिजास्टर्स’ भनिने विश्वभर निकै लोकप्रिय वृत्तचित्र श्रृंखला हो।

यसमा विगतमा भएका वास्तविक विमान दुर्घटना, अपहरण र आगो लागेका घटनाहरूलाई नाटकीय रूपमा दुरुस्तै देखाएर दुर्घटनाका प्राविधिक कारणहरू विश्लेषण गरिन्छ। त्यही कार्यक्रम हेरेर हायुनले आपतकालीन अवस्थामा के गर्नुपर्छ भन्ने सामान्य जानकारी पाएका थिए।

डोनाल्ड ट्रम्पको प्रतिक्रिया
टिभी शो हेरेकै भरमा यात्रुले विमान सम्हालेको घटना सुनेर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आश्चर्य व्यक्त गरेका छन्। ट्रम्पले आफूलाई नराम्रा घटना देखाइने भएकाले त्यस्ता शो हेर्न मन नपर्ने बताए।

ट्रम्पले भने, ‘तर ती यात्रुले त्यो शो धेरै हेरेका रहेछन् र त्यहीँबाट विमान कसरी उडाउने भन्ने सामान्य ज्ञान सिकेछन्। मेरो विचारमा यो निकै अचम्मलाग्दो र गज्जबको कुरा हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर