१ हजार दरको नयाँ डिजाइनको नोट निष्काशन
काठमाडौं । आजदेखि नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै शुक्रबारदेखि १ हजार रुपैयाँ दरको ‘सिरिज २०२५’ बैंकनोट साविककै आकारमा रङ परिवर्तन गरी चलनचल्तीमा ल्याइएको जनाएको हो।
के छन् विशेषता ?
बैजनी रङ्गको घेराभित्र फिक्का हरियो रङको नयाँ नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँसको पानीछाप तथा ‘१०००’ अङ्कित पानीछाप राखिएको छ। नोटमा दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ तथा तेर्सा रेखाहरू पनि राखिएका छन्। नोटमा सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने भगवतीको चित्र तथा सिधा हेर्दा रातो र ढल्काउँदा हरियो देखिने चलायमान विशेषतायुक्त सुरक्षण धागो राखिएको छ।
नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको पृष्ठभागमा चितवन जिल्लास्थित सरकारी हात्तीसारमा देवकली नामक हात्तीबाट जन्मिएका दुर्लभ मानिने राम र लक्ष्मण नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ। त्यस्तै, नेपालको सातवटा प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसको चित्र तथा हनुमानढोकास्थित ल्होँचोकमा रहेको ऐतिहासिक थामको आकृति राखिएको राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
