अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच शुक्रबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।
भारत भ्रमणको दोस्रो दिन भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सहकार्य, लगानी, ऊर्जा तथा कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

भेटमा अर्थमन्त्री वाग्लेले रसुवामा हालै आएको आकस्मिक बाढीपछि उद्धार तथा राहत कार्यमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए। नेपाल–भारतबीचको दीर्घकालीन मित्रतालाई अझ प्रगाढ बनाउँदै आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विषयमा पनि दुई मन्त्रीबीच छलफल भएको दूतावासले जनाएको छ। विशेषगरी लगानी, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा सहकार्यका नयाँ सम्भावना र त्यसलाई प्रभावकारी बनाउने उपायबारे कुराकानी भएको थियो।

अर्थमन्त्री वाग्ले भारतको तीनदिने भ्रमणका क्रममा बिहीबार नयाँदिल्ली पुगेका थिए। भ्रमणको पहिलो दिन उनले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा नेपाल–भारतबीचको द्विपक्षीय आर्थिक सम्बन्ध, आपसी हित र आर्थिक सहकार्यका विषयमा छलफल भएको थियो। भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय उच्च कूटनीतिक अधिकारीहरूसँग पनि छलफल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर