इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग विकास र समृद्धिमा केन्द्रित सहकार्यलाई अघि बढाउने भारतको अपेक्षा छ। त्यस्तै, थाइल्यान्डसँगको व्यापक रणनीतिक साझेदारीलाई थप गहिरो बनाउने उद्देश्यले उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिहासाकको सहभागितालाई महत्वपूर्ण मानिएको छ।

क्युबा, अफ्रिकी युनियन र डब्लुटिओको उपस्थिति
क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज पारिल्लाको सहभागितालाई भारतले ग्लोबल साउथका साझा एजेन्डामा सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिएको छ।
बुरुण्डीका राष्ट्रपति एभारिस्त न्दायिशिमिये अफ्रिकी युनियनको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका छन्। यस्तै, डब्लुटिओकी महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाको उपस्थितिले समावेशी व्यापार, विकास तथा विश्व व्यापार प्रणालीमा सुधारसम्बन्धी छलफललाई थप महत्व दिने अपेक्षा गरिएको छ।
विकास र स्थायित्वमा केन्द्रित ब्रिक्स सम्मेलन
भारतले सेप्टेम्बर १२ र १३ मा आयोजना गरेको १८औँ ब्रिक्स शिखर सम्मेलनको मूल विषय ‘बिल्डिङ फर रेजिलिएन्स, इनोभेसन, कोअपरेसन एन्ड सस्टेनेबिलिटी’ रहेको छ। भारतको अध्यक्षतामा भइरहेको सम्मेलनमा विकास, दिगोपन, नवप्रवर्तन, जलवायु कार्य, ऊर्जा सुरक्षा, वित्तीय स्थायित्व तथा विश्व संस्थागत सुधारजस्ता विषयमा सदस्य राष्ट्रबीच सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ।
हाल ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स गरी ११ सदस्य राष्ट्र छन्। विश्व अर्थतन्त्रमा बढ्दो विभाजन, तीव्र प्रविधिगत परिवर्तन, भू–राजनीतिक अनिश्चितता तथा जलवायु संकटका बीच विस्तारित ब्रिक्सलाई उदीयमान अर्थतन्त्रहरूको साझा आवाज र ग्लोबल साउथका हित प्रवद्र्धन गर्ने महत्वपूर्ण बहुपक्षीय मञ्चका रूपमा हेरिएको छ।
