भोटेकोशी बाढी : पुनरुत्थानका लागि करिब साढे ७ खर्ब लाग्ने आँकलन

काठमाडौं ।  रसुवा–भोटेकोशी बाढीबाट ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति तथा आर्थिक नोक्सान भएको सरकारी अध्ययनले देखाएको छ। बाढीपछिको द्रुत क्षति तथा आवश्यकता आँकलन (आरडीएनए) प्रतिवेदन अनुसार बाढीबाट २ खर्ब ७४ अर्ब ४८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष भौतिक क्षति भएको छ भने १ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ आर्थिक नोक्सान भएको हाे।

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, पुनःस्थापना तथा आर्थिक पुनर्लाभका लागि भने ७ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ आवश्यक पर्ने आँकलन गरिएको छ। यो बाढीबाट भएको कुल क्षति तथा नोक्सानको तुलनामा झन्डै पौने दुई गुणा बढी हो। आरडीएनए प्रतिवेदनअनुसार बाढीबाट पाँच जिल्लाका १५ स्थानीय तह प्रभावित भएका छन्। विपद्का कारण ७ हजार ५७० भवनमा क्षति पुगेको छ भने ८ हजार ३१७ घरपरिवारका ३२ हजार ९६३ जना प्रत्यक्ष प्रभावित भएका छन्।

सबैभन्दा ठुलाे असार पूर्वाधार क्षेत्रमा

बाढीबाट भएको कुल विपद् प्रभावमा पूर्वाधार क्षेत्रको हिस्सा ४६.५५ प्रतिशत रहेको छ। तर पुनर्लाभ तथा पुनर्निर्माणका लागि आवश्यक कुल रकममा पूर्वाधार क्षेत्रको हिस्सा ६५.४७ प्रतिशत पुगेको छ।

सडक, पुल, खानेपानी, ऊर्जा र आवासलगायतका संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ठुलो लगानी आवश्यक पर्ने भएकाले पुनर्लाभ आवश्यकतामा पूर्वाधार क्षेत्रको हिस्सा बढी देखिएको प्रतिवेदनले जनाएको छ।

त्यस्तै, विपद्पछि क्षतिग्रस्त संरचनालाई पहिलेभन्दा बलियो तथा जोखिमप्रतिरोधी बनाउने गरी पुनर्निर्माण गर्नुपर्ने भएकाले क्षतिको तुलनामा पुनर्लाभ लागत उल्लेख्य रूपमा बढेको प्रतिवेदनले देखाएको छ।

उत्पादनशील क्षेत्रमा आर्थिक नोक्सान बढी

उत्पादनशील क्षेत्रले कुल विपद् प्रभावको ३६.८३ प्रतिशत हिस्सा बेहोरेको छ। तर पुनर्लाभ आवश्यकतामा यसको हिस्सा ७.०२ प्रतिशत मात्र रहेको छ।

उत्पादनशील क्षेत्रमा भएको ठुलो हिस्सा आम्दानी तथा उत्पादन गुमेको आर्थिक नोक्सान भएकाले त्यसलाई भौतिक पुनर्निर्माणभन्दा आर्थिक पुनरुत्थानमार्फत सम्बोधन गर्नुपर्ने कारणले यस्तो अन्तर देखिएको प्रतिवेदनमा उल्लेख छ।

विदुर सबैभन्दा बढी प्रभावित

प्रभावित स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ। विदुरमा ३ हजार ४३१ भवन प्रभावित भएका छन्, जुन कुल प्रभावित भवनको करिब ४१ प्रतिशत हो। त्यसपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा १ हजार १५६, धादिङको बेनीघाट रोराङ गाउँपालिकामा १ हजार १४६ र नुवाकोटको किस्पाङ गाउँपालिकामा ७२१ भवन प्रभावित भएका छन्।

प्रतिवेदनले क्षति तथा नोक्सानको पुनर्लाभसँगै भविष्यमा यस्ता विपद्बाट हुने जोखिम न्यूनीकरणलाई समेत प्राथमिकता दिनुपर्ने औंल्याएको छ। विशेषगरी पूर्वाधार पुनर्निर्माणलाई जोखिमप्रतिरोधी र दिगो बनाउन ठुलो लगानी आवश्यक पर्ने आँकलन गरिएको छ। आरडीएनए प्रतिवेदनअनुसार रसुवा–भोटेकोशी बाढीबाट कुल ४०८ अर्ब २९ करोड रुपैयाँ बराबरको क्षति पुर्याएकाे छ भने पुनर्लाभका लागि ७२३ अर्ब ३२ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर