मनो-सामाजिक परामर्शपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन
काठमाडौं । शिक्षा विभागले रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्र नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयहरूलाई निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विभाग, योजना तथा कार्यक्रम शाखाले जारी गरेको पत्रमा बाढीका कारण प्रभावित बालबालिकाहरूमा भय, त्रास, तनाव र गहिरो मनोसामाजिक असर पर्न सक्ने भएकाले पठनपाठन सुरु गर्नुपूर्व उनीहरूको मानसिक अवस्थाको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइएको छ।
विभागले सम्बन्धित विद्यालय र स्थानीय तहलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्थाको पहिचान गर्न अनुरोध गरेको छ। आवश्यकता अनुसार परामर्श सेवा दिएर विद्यार्थीहरू कक्षा कोठामा फर्कन पूर्ण रूपमा तयार भएको सुनिश्चित भएपछि मात्र नियमित पठनपाठन सुचारु गर्नुपर्ने विभागको स्पष्ट भनाइ छ।
साथै, विपद्का कारण विद्यार्थीहरूको सिकाइमा पर्न सक्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्न सुरक्षित र पूर्ण बालमैत्री वातावरणमा विद्यालयहरू सञ्चालन गर्न आग्रह गरिएको छ। प्रभावित बालबालिकाको शैक्षिक तथा मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर स्थानीय निकाय, विद्यालय र स्वास्थ्य क्षेत्रबीच नजिकको समन्वयमा काम गर्न विभागले निर्देशन दिएको छ।
