हानिनोक्सानी कोषले नेपाललाई तीन अर्ब रुपैयाँ अनुदान दिने

काठमाडौं । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि जलवायु हानिनोक्सानी कोष (लस एन्ड ड्यामेज फन्ड) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब तीन अर्ब नेपाली रुपैयाँ) अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

कोषको बिहीबार बसेको विशेष बैठकले नेपाललाई उक्त सहयोग राशि उपलब्ध गराउने निर्णय गरेको कृषि, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार बाढीबाट भएको जनधनको ठूलो क्षतिलाई सम्बोधन गर्न नेपाल सरकारले गत अगस्ट ३१ मा कोषको बोर्डसमक्ष सहायताका लागि आधिकारिक अनुरोध गरेको थियो।

कोषका लागि नेपालका राष्ट्रिय सम्पर्क अधिकृत तथा वैकल्पिक बोर्ड सदस्यसमेत रहनुभएका डा. ढकालले नेपालको प्रस्तावलाई पारित गराउन विकसित तथा विकासशील राष्ट्रका बोर्ड सदस्यहरूसँग विभिन्न चरणमा सघन छलफल र समन्वय गरिएको जानकारी दिए।

स्वीकृत कार्यविधिअनुसार नेपालले अब भोटेकोशी र त्रिशूली क्षेत्रका बाढीप्रभावित समुदायलाई लक्षित गरी छुट्टै आयोजना प्रस्ताव (प्रपोजल) तयार पारेर पेस गर्नुपर्नेछ। उक्त आयोजना प्रस्ताव कोषबाट अन्तिम स्वीकृत भएलगत्तै प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतका कार्यक्रमहरू सोझै सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण करिब १५ हजार घरधुरीका ६० हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। मन्त्रालयको प्रारम्भिक विवरणअनुसार उक्त विपद्मा परी करिब १ हजार ५ सय जनाले ज्यान गुमाएका छन् भने ५ हजारभन्दा बढी मानिस बेपत्ता छन्।

बाढीबाट करिब २ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रारम्भिक भौतिक तथा आर्थिक क्षति भएको अनुमान छ। साथै, क्षतिग्रस्त संरचनाको पूर्ण पुनर्निर्माण र पुनर्स्थापनाका लागि कम्तीमा ४ अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने मन्त्रालयको आकलन छ।

जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता विकासशील राष्ट्रहरूका लागि कोषको यो निर्णय अत्यन्तै महत्त्वपूर्ण मानिएको छ। यस कदमले अन्तर्राष्ट्रिय स्तरमा जलवायु न्यायको अवधारणालाई व्यवहारमा उतार्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर