काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सुचारु
काठमाडौं । काठमाडौं उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट एलपी ग्यास ल्याउन थालेका छन् । आइतबार कृष्णभिरको सडक भत्किएपछि काठमाडौं उपत्यकामा जोड्ने सडक बन्द भएपछि उद्योगीले त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे–पालुङ–नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन् ।
एभरेस्ट, सुगम ग्यास मङ्गलबारदेखि नै आउन थालेको एलपी ग्यास उद्योग सङ्घ नेपालले जनाएको छ । सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठले बजारमा ग्यासको आपूर्ति व्यवस्था सहज बनाउन ट्रकबाट ग्यास ल्याउन थालिएको जानकारी दिनुभयो ।
नेपाल आयल निगमले तोकेका उपत्यका बाहिरी जिल्लामा रहेका उद्योगबाट ग्यास भरेर ल्याउन सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उपत्यकाबाट खाली सिलिन्डर लगेर चितवन, नवलपरासी, बारा, पर्सा, मकवानपुरमा रहेका ग्यास उद्योगबाट ग्यास भरेर ल्याउन थालेको उहाँले जानकारी दिनुभयो । विपत्का बेला बजारमा आपूर्ति व्यवस्था सहज बनाउन ट्रकबाट सिलिन्डर ल्याउन थालिएको उहाँले जानकारी दिनुभयो ।
बुलेटमा ल्याउँदा सहज हुने गरेकामा ट्रकबाट ग्यास ल्याउँदा बाटो जाम भई समयमा आउन कठिन हुने उहाँको भनाइ छ । उपत्यकाआसपासको जिल्ला धादिङ, काठमाडौँ, काभ्रेमा रहेका १८ वटा ग्यास उद्योगले ग्यास रिफिलिङ गरेर बजारमा ग्यास पठाउँदै आएका थिए । पृथ्वी राजमार्ग बन्द भई ग्यास बुलेट आउन नसकेपछि उद्योगीले बाहिरी जिल्लामा रहेका ग्यास प्लान्टबाट भरेर ट्रकबाट ग्यास ल्याउन थालेका छन् । नेपाल निगमले राजमार्ग बन्द भएपछि वैकल्पिक बाटो प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात गरिरहेको जनाएको छ ।
