चीनसँग कारोबारका लागि कोरला नाका प्रभावकारी बन्ने
काठमाडौं । चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङस्थित कोरला नाका नै प्रभावकारी बन्ने देखिएको छ । रसुवागढी र तातोपानी नाका प्राकृतिक विपत्का कारण जोखिममा पर्दा भरपर्दो नाकाका रूपमा कोरला उपयुक्त बन्दै छ । तथापि उच्च हिमाली क्षेत्रमा रहेको यो नाका चिसो मौसममा चल्न नसक्ने बाध्यता पनि रहेको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण बुधबार रसुवाको टिमुरेस्थित भन्सार क्षेत्र ध्वस्त भएपछि सरकारले रसुवागढीबाट हुने आयातनिर्यातको कारोबार कोरला नाकाबाट गर्न व्यवसायीलाई आग्रह गरेको छ । चीनसँगको अर्को व्यापारिक नाका तातोपानी पनि बाढीपहिरोले जोखिममा रहेको अवस्थामा रसुवागढीको विकल्पका रूपमा कोरला नाकालाई सरकारले सुझाएको हो ।
सन् १९४९ को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाले नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएको भन्सार कार्यालय २०८० साल कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको थियो ।
विसं २०८२ भदौ ३० देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको भन्सार कार्यालय आफैँमा भने पूर्वाधारयुक्त छैन । बाढीकै कारण २०८१ सालमा रसुवागढी नाका सञ्चालनमा आउन नसक्ने भएपछि सरकारले कोरला नाकालाई विकल्पका रूपमा सञ्चालनमा ल्याएको थियो । उक्त नाकाबाट गत आवमा छ अर्ब ९१ करोड राजस्व सङ्कलन भएको थियो ।
त्यसयता सरकारले उक्त नाकाको कार्यक्षेत्र विस्तार गर्न बजेट विनियोजन गरेको छ । उक्त भन्सार कार्यालयका अनुसार उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आव २०८३/८४ मा भवन बनाउन ५० लाख रुपियाँ विनियोजन भएको छ । हाल एक दशकअघि निर्मित पाँच भवनबाट भन्सारको कार्य सञ्चालन हुँदै आएको छ । भन्सार कार्यालयभित्र रहेको एउटा साँघुरो कोठामा कर्मचारीको आवास छ ।
चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट विद्युतीय सवारीसाधनसहित कन्टेनरमार्फत सामान पैठारी हुने गरेको छ । यसरी सीमित पूर्वाधारबाटै भन्सार कार्यालय सञ्चालन भइरहेको छ ।
दैनिक अर्बको कारोबार गरे पनि भौतिक पूर्वाधारका लागि विगतमा पूर्वाधारका लागि न्यून बजेट विनियोजन भए पनि कार्यान्वयनमा चुनौतीसँगै कामै नगरी फिर्ता भएको थियो । रसुवा टिमुरेस्थित भन्सार कार्यालय बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएसँगै कोरला नाकामा चाप हुने भएपछि पूर्वाधार र जनशक्ति तत्काल थप्नुपर्ने अवस्था रहेको प्रमुख भन्सार अधिकृत प्रमुख विदुर चुडालले बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सारमा पूर्वाधारको चरम अभाव छ । अन्य नाका अवरुद्ध हुँदा अब चाप बढ्छ । अस्थायी संरचना थपेर भए पनि सेवा दिनु पर्छ ।” १८ जना दरबन्दी रहेको कार्यालयमा हाल १२ जना कर्मचारी कार्यरत रहेकामा चाडपर्वको मुखैमा भीषण बाढीले रसुवाको भन्सार कार्यालय तहसनहस बनाएसँगै थप व्यवस्थापनसहितको तयारीका लागि आफू काठमाडौँमा हिँडेको उहाँले बताउनुभयो ।
चुडालले भन्नुभयो, “नाकादेखि सदरमुकाम जोमसोमसम्म पूर्वाधारको आवश्यकता छ, भन्सारमा कामकाज अझै पनि कागजी प्रणालीमै छ ।” भन्सार कार्यालय छोसेरमा तत्काल मालवस्तुको प्रविधियुक्त जाँचका लागि एक्सरे स्क्यानर, विद्युतीय प्रवेश प्रणाली, वाक थ्रु गेट र मालवाहक सवारीसाधन राख्ने यार्ड अति आवश्यक छ । रसुवा र तातोपानी भन्सार कार्यालयको विकल्पमा रहेको कोरला नाकाबाट कन्टेनर, ट्रक र ठुला मालवाहक गाडीसँगै तस्करीका सामानसमेत भित्रिने जोखिम रहेकाले नखोलीकनै जाँच गर्न एक्सरे स्क्यानर प्रयोग आवश्यक रहेको भन्सार कार्यालयले जनाएको छ ।
