आज यी स्थानमा वितरण हुनेछ ग्यास
काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा आज (आइतबार) ७ स्थानबाट खाना पकाउने एलपी ग्यास बिक्री–वितरण गर्ने भएको छ। निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री गरिनेछ। बुढानीलकण्ठको पशु सेवा शाखा, चापलीबाट नेपाल, एचपी र भानु ब्रान्डका सिलिन्डर उपलब्ध गराइनेछ।
त्यस्तै, कीर्तिपुरस्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री हुने निगमले जनाएको छ। नयाँ बजारस्थित जुडो हल परिसर तथा नयाँ बानेश्वरस्थित होटल परिसरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ। बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट भने नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।
यसैगरी, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद केन्द्रबाट नेपाल, एचपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिनेछ। निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ। उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित बिक्री गर्नसमेत आग्रह गरिएको छ।
कुनै कारणले नियमित बिक्री केन्द्रबाट ग्यास प्राप्त गर्न नसकेका उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर नजिकको तोकिएको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।

