ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा  एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ।

मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणभन्दा बढी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ।

मन्त्रालयले सर्वसाधारण उपभोक्तालाई कुनै पनि भ्रमपूर्ण सूचनाको पछि नलाग्न, आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।

बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ। यसका साथै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र पारेको छ।

नेपाल आयल निगम र ग्यास उद्योगीहरूसँगको सहकार्यमा ग्यासको आयात, भण्डारण र वितरण प्रणालीलाई पारदर्शी तथा अनुमानयोग्य बनाउन सुधारका कदमहरू सुरु भइसकेका छन्। मन्त्रालयले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन पनि सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।

यसैबीच, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा कानुनविपरीत कार्य गरेर उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत मन्त्रालयले दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर