बजारमा ग्यासको कृत्रिम अभाव

काठमाडौं । उपभोक्ता मञ्च नेपालले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको जनाउँदै कारबाही गर्न सरकारसँग माग गरेको छ।

सोमबार उपभोक्ता मञ्चका प्रवक्ता उज्वलराज गौतमले प्रेस विज्ञप्ति जारी गरी ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको जनाएका छन्। ‘भारतबाट ग्यास आयात तथा ढुवानी तथा आपूर्ति सहज ढंगबाट भइराख्दा पनि खाना पकाउने ग्यासको सहज उपलब्धता ठप्प हुनु र सर्वसाधारण नागरिकहरू घण्टौँ लाइनमा बस्न बाध्य हुनुले बजारमा ग्यासको कृत्रिम अभाव र कालाबजारी मौलाएको स्पष्ट पार्छ,’ मञ्चले भनेको छ।

मञ्चले खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, सञ्चितीकरण गर्ने र बढी मूल्यमा बिक्री गर्ने बिचौलिया तथा व्यापारीमाथि कडा कारबाही गरी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

यससँगै चाडपर्व नजिकिँदै गर्दा तथा विपद्का बेला बजारमा चरम महंगी र अभाव सिर्जना हुनु, नियमनकारी सरकारी निकायहरू मूकदर्शक बन्नु अत्यन्तै दुःखद र गैरजिम्मेवारपूर्ण विषय भएको मञ्चले जनाएको छ।

‘केही समययता बजारमा चामल, दाल, तेल, चिनी, तरकारी, फलफूल, खसी तथा कुखुराको मासु र अण्डा जस्ता दैनिक उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक र अनुचित ढङ्गले बढाइएको छ,’ मञ्चले भनेको छ, ‘व्यवसायीहरूले वर्षात् तथा ढुवानीको बहाना बनाएर मूल्य बढाए पनि त्यसको कुनै ठोस र औचित्यपूर्ण आधार देखिँदैन।’

बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि, नाफाखोरी र कालोबजारी नियन्त्रण गर्न तत्काल संयुक्त र प्रभावकारी अनुगमन टोली परिचालन मञ्चले माग गरेको छ। ‘बिना कुनै ठोस आधार र औचित्य चामल, दाल, तेल, चिनी, तरकारी लगायतका खाद्य वस्तुमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गराइयोस्,’ विज्ञप्तिमा भनिएको छ।

यससँगै मञ्चले बिजुली खपत तथा सवारी/ढुवानी भाडामार्फत हुने दोहोरो मारबाट सर्वसाधारणलाई जोगाउन अविलम्ब राहत तथा सहजीकरणका कदम चाल्न पनि सरकारलाई आग्रह गरेको छ। ‘यदि सरकारले आम उपभोक्ताको चुलो र जीवनस्तरसँग जोडिएका यी संवेदनशील विषयमा अविलम्ब कदम नचालेमा मञ्च उपभोक्ताको हकहित रक्षाका लागि सशक्त विरोधका कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुने चेतावनी दिन चाहन्छ,’ मञ्चले भनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर