हराउँदै जाँदै बर्ड फ्लु : नयाँ संक्रमण शून्य
काठमाडौं । चार महिनायता पोल्ट्री क्षेत्रमा ठुलो क्षति पु-याएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण नियन्त्रणउन्मुख बनेको छ । चालु आर्थिक वर्षको साउन १ गतेयता देशका कुनै पनि स्थानमा नयाँ सङ्क्रमण पुष्टि नभएसँगै पशुसेवा विभागले रोग नियन्त्रणको चरणमा पुगेको जनाएको हो ।
पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हाल विभिन्न जिल्लाबाट शङ्कास्पद नमुना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आउने क्रम जारी छ । हालसम्म परीक्षण गरिएका सबै नमुनाको नतिजा नकारात्मक आएको छ । “यसले सङ्क्रमण नियन्त्रणमा आएको स्पष्ट सङ्केत दिएको छ,” उहाँले भन्नुभयो ।
रोग पुनः फैलिन नदिन निगरानी, प्रयोगशाला परीक्षण तथा पोल्ट्री फार्ममा जैविक सुरक्षा (बायो–सिक्युरिटी) मापदण्ड कार्यान्वयनलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।
विभागले रोग नियन्त्रण उन्मुख भए पनि जोखिम पूर्ण रूपमा टरिनसकेको जनाएको छ । त्यसैले पोल्ट्री फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, शङ्कास्पद लक्षण देखिए तत्काल पशुसेवा कार्यालयमा जानकारी गराउन र नियमित निगरानीलाई निरन्तरता दिन किसानसँग आग्रह गरेको छ ।
यस वर्षको बर्डफ्लु पहिलो पटक २०८२ चैत ४ गते मोरङमा पुष्टि भएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको पिसिआर परीक्षणबाट सङ्क्रमण पुष्टि भएपछि सरकारले चैत ६ गते प्रभावित क्षेत्र घोषणा गर्दै नियन्त्रण अभियान सुरु गरेको थियो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ बाट सुरु भएको सङ्क्रमण सुनसरी, झापा, चितवन, नवलपरासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक गरी ११ जिल्लामा फैलिएको थियो । महामारीबाट व्यावसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की तथा कालिज प्रभावित बनेको विभागले जनाएको छ ।
काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकका ११९ स्थानमा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँमा ३२, भक्तपुरमा ४५, ललितपुरमा १५ र काभ्रेपलाञ्चोकमा २७ स्थान रहेका थिए । उपत्यकाका जिल्लामध्ये भक्तपुर सबैभन्दा बढी प्रभावित थियो । ललितपुरमा असार २५ गतेपछि तथा काठमाडौँ र भक्तपुरमा साउन १ गतेयता नयाँ सङ्क्रमण पुष्टि भएको छैन ।
महामारी नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ पन्छी, ११ लाख ६५ हजार ६६३ गोटा अन्डा र दुई लाख ४५ हजार ३५ किलोग्राम दाना नष्ट गरिएको छ । तीमध्ये काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा मात्रै तीन लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको विभागले जनाएको छ ।
महामारीबाट प्रभावित किसानलाई ५२ करोड रुपियाँ व्यवस्था गरिएको र हालसम्म १०४ जना प्रभावित कृषक तथा पोल्ट्री फार्मलाई ५० करोड ७१ लाख १५ हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराइसकिएको विभागले जनाएको छ ।
