अब भारतीय २ सय र ५ सयका नोट नेपालमा चल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा ओसारपसारसम्बन्धी व्यवस्था स्पष्ट गर्दै नेपालमा भारतीय २ सय र ५ सय रुपैयाँका नोट प्रयोग गर्न सकिने जनाएको छ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका भारतीय २ सय र ५ सय रुपैयाँका नोट नेपालमा प्रचलित व्यवस्थाअनुसार ल्याउन, लैजान र सटही गर्न सकिनेछ। यद्यपि, सन् २०१६ नोभेम्बर ८ अघिका भारतीय ५०० र १,००० रुपैयाँका नोट भने प्रतिबन्धित नै रहनेछन्।

नयाँ व्यवस्थाअनुसार नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन्। तोकिएको सीमाभन्दा बढी रकम भएमा प्रचलित कानुनबमोजिम भन्सार घोषणा गरी आवश्यक प्रमाणिकरण गराउनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य देशबाट भारतीय रुपैयाँ नेपाल ल्याउन भने नपाउने व्यवस्था यथावत् रहेको पनि स्पष्ट पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर