अबदेखि २०६० रुपैयाँमा भरी सिलिन्डर ग्यास पाइने

काठमाडौं ।  एलपी ग्यासको असहजता र उपभोक्ताको मागलाई सम्बोधन गर्दै नेपाल आयल निगमले आज  बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिन्डर) को ग्यास बिक्री वितरण सुरु गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष निर्देशनपछि निगमले यो व्यवस्था मिलाएको हो ।

नेपाल आयल निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा साविककै १४.२ केजीको भरी सिलिन्डर बिक्री वितरणको व्यवस्था मिलाइएको आधिकारिक जानकारी दिएको छ ।

निगमले भरी सिलिन्डर (१४.२ केजी) ग्यासको उपभोक्ता मूल्य समेत स्पष्ट पारेको छ । अब उपभोक्ताले प्रति सिलिन्डर दुई हजार ६० रुपैयाँ (रु. २,०६०) मा भरी ग्यास सिलिन्डर खरिद गर्न सक्नेछन् ।

आपूर्तिमा सुधार र उच्च मागको सम्बोधन

विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू क्रमशः हल हुँदै गएका छन् । निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट हुने लोडिङको अवस्थामा उल्लेख्य सुधार आएको छ ।

यसका साथै, आम उपभोक्ता वर्गबाट १४.२ केजीकै भरी ग्यास सिलिण्डरको उच्च माग भइरहेको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले आधा सिलिण्डरको सट्टा पूर्ण तौलकै सिलिण्डर बजारमा पठाउने निर्णय गरेको हो । यो निर्णय बुधबारदेखि नै मुलुकभरका सबै डिपो र विक्रेताहरूमा लागू हुने निगमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर