दश महिनामा १९ खर्ब १६ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको दश महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १३.३ प्रतिशतले वृद्धि भएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको बैशाख महिनामा रेमिट्यान्स आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आप्रवाह १० अर्ब ६ करोड डलर रहेको थियो।
यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३६४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति ४ लाख ५ हजार ६१० र पुनः श्रम स्वीकृति २ लाख ८० हजार ३१४ रहेको राष्ट्र बैंकले जनाएको छ।
