मन्त्रीहरूलाई डीडीसीको उत्पादन कोशेली
काठमाडौं । सरकारले स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न विशेष अग्रसरता देखाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा चर्चा भएको छ ।
बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनहरूको प्रयोग र प्रवर्द्धनलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । बैठककै क्रममा मन्त्री चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीद्वारा उत्पादित शुद्ध घिउ, दही, पनिर, चिजलगायतका सामग्रीहरूको उपहार प्याकेज वितरण गरेकी थिइन् ।
गुणस्तरीय दुग्धजन्य पदार्थ उत्पादन गर्दै आएको डीडीसीको यो अभियानलाई प्रधानमन्त्री बालेन्द्र शाहले पनि पूर्ण समर्थन जनाएका थिए । यसअघि प्रधानमन्त्री शाहले जेठ २ गते सामाजिक सञ्जालमार्फत ‘से चीज, डीडीसीको चीज’ स्टाटससहित डीडीसीले उत्पादन गर्ने याक चिजको बजार प्रवर्द्धन गरेका थिए ।
