पोलिसी कब्जा र म्याक्रो सिन्डिकेटको अभ्यास अन्त्य गर्ने अर्थमन्त्रीको दृढोक्ति
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको सुशासन र आर्थिक संरचना सुधारका लागि ठुलो परिवर्तन गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विगतमा नीतिगत तहमा हुने ‘पोलिसी कब्जा’ र म्याक्रो सिन्डिकेटको अभ्यास अन्त्य गर्ने गरी सरकार अगाडि बढेको बताए । पुराना संरचनाबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन सक्रिय रहेको उल्लेख गर्दै उनले त्यसलाई ‘अन्तिम छटपटी’ को संज्ञा दिए ।
वाग्लेले अबको अर्थतन्त्र ‘लेभल प्लेइङ्ग फिल्ड’ र निष्पक्ष प्रतिस्पर्धामा आधारित हुने बताए । उनका अनुसार नियामक निकायहरूमा स्वच्छ, सक्षम र योग्य व्यक्तिहरूको नेतृत्व स्थापित गरिनेछ । उनले राजनीतिक संयन्त्र, आर्थिक संरचना तथा नियामक निकायहरू कुनै व्यक्ति विशेष वा भ्रष्ट प्रभाव समूहको नियन्त्रणमा रहने अवस्था अन्त्य हुँदै गएको दाबी गरे ।
