नागढुंगा सुरुङ निर्माण : जापानको ५.५ अर्ब थप ऋण
काठमाडौं । जापान सरकारले नागढुंगा सुरुङ निर्माण परियोजना का लागि नेपाललाई थप ५.७ अर्ब येन (करिब ५.५ अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा बुधबार अर्थ मन्त्रालयमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत मैदा तोरुले हस्ताक्षर गरेका छन्।
यसअघि सन् २०१६ को डिसेम्बरमा जापानले नागढुंगा सुरुङ निर्माणका लागि १६.६३६ अर्ब येन ऋण उपलब्ध गराउने सम्झौता गरेको थियो। तर निर्माण लागत वृद्धि तथा अन्य कारणले बजेट अभाव भएपछि थप ५.७ अर्ब येन सहायता उपलब्ध गराउने सहमति भएको हो। नयाँ सम्झौतासँगै परियोजनाका लागि जापानले उपलब्ध गराउने कुल ऋण सहायता २२.३३६ अर्ब येन पुगेको छ।
सन् २०१९ मा निर्माण सुरु भएको नागढुंगा सुरुङ नेपालकै महत्त्वपूर्ण पूर्वाधार परियोजनामध्ये एक मानिन्छ। काठमाडौंस्थित जापानी दूतावासले जारी गरेको विज्ञप्तिमा यो परियोजनाले नेपाली इन्जिनियरहरूलाई उन्नत जापानी प्रविधि र सीप हस्तान्तरण गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै दीर्घकालीन रूपमा नेपाली जनतालाई लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।
