आज आर्थिक स्थिरताका लागि बजेट भाषण
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा अपराह्न ४ बजे आगामी आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ।
बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री वाग्लेले बताएका छन्। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने उनको तयारी छ।
बजेटमा बर्सौंदेखि रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत गतिमा सम्पन्न गर्ने र कमजोर अवस्थाका सार्वजनिक निकाय खारेज गर्नेसम्मको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै शिक्षक, निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने तथा व्यक्तिगत आयकरको सीमा बढाउनेलगायतका कार्यक्रम बजेटमा समेटिँदै छन्।
