आगामी बजेटमा अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८२–०८३ मा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब र प्रतिव्यक्ति कुल राष्ट्रिय आय एक हजार पाँच सय ३५ अमेरिकी डलर पुग्ने अनुमान सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आवको आर्थिक सर्वेक्षण पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।
कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रको योगदान क्रमशः २४ र ७६ प्रतिशत रहने अनुमान छ । प्रदेशगत योगदानमा बागमतीको सबैभन्दा बढी योगदान रहने अनुमान गरिएको छ । उक्त सर्वेक्षण मार्फत सन् २०२६ मा विश्व अर्थतन्त्रको विस्तार ३.१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ । नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत बराबर हुने अर्थमन्त्री वाग्लेले जानकारी गराए । अर्थमन्त्री वाग्लेले बागमती र गण्डकीबाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत भन्दा न्यून रहने उल्लेख गरे ।
