गोकर्णेश्वरका तीन वडामा ‘बर्ड फ्लु’ पुष्टि
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएको छ। नगरपालिकाको वडा नं. २, ३ र ४ मा बर्ड फ्लुको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासन र पशु स्वास्थ्य टोलीले नियन्त्रणको कार्यलाई तीव्र पारेका छन्।
नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन नगरवासी तथा किसानहरूमा अपिल गरेको छ। सङ्क्रमण पुष्टि भएका क्षेत्रमा रोग थप फैलिन नदिनका लागि हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गर्ने कार्य भइरहेको छ।
नगरपालिकाका अनुसार बरामद गरिएका पन्छी र पन्छीजन्य सामग्रीलाई सुरक्षित रूपमा खाल्डोमा गाड्ने र सो क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ।
