माउन्टेन ड्युको बिक्रीमा रोक

काठमाडौं ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको पेप्सीकोलास्थित वरुण बेभरेज (नेपाल) प्रालिको ब्याच नं. १६८ को पेयपदार्थ बिक्रीवितरणमा रोक लगाएको छ । विभागको टोलीले आकस्मिक अनुगमनमा उक्त ब्याचको पेयपदार्थमा कैफियत देखिएको आशङ्कामा बिक्रीवितरणमा रोक लगाएको हो ।

काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने एक उपभोक्ताले माउन्टेन ड्यु सेवन गर्दा बान्ता भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागको द्रुत प्रतिकार्य टोलीले उक्त उद्योगमा तत्काल निरीक्षण गरेको थियो ।

विभागका अनुसार अनुगमनमा उपभोक्ताले सेवन गरेको ब्याच नं. १६८ (मिति : ०३/०४/२६) को २५० मिमी प्याकका उत्पादनमध्ये उद्योगको गोदाममा एक क्रेट मात्र फेला परेको र बाँकी उत्पादन डिलरमार्फत बजारमा पठाइसकिएको पाइयो ।

विभागका निर्देशक डा. बालकुमारी शर्माले उक्त ब्याचको उत्पादनमा प्रयोग भएको कच्चा पदार्थको विस्तृत विवरण र खाद्य स्वच्छतासम्बन्धी अभिलेख पाँच दिनभित्र विभागमा पेस सम्बन्धित उद्योगलाई निर्देशन दिएको जानकारी दिनुभयो । प्रयोगशालाको विश्लेषण प्रतिवेदन प्राप्त नभएसम्म उक्त ब्याचका पेयपदार्थ बिक्रीवितरण नगर्न उद्योग र सम्बन्धित डिलरलाई निर्देशन गरेको पनि उहाँले जानकारी दिनुभयो । विभागका अनुसार उक्त उद्योगमा शङ्कास्पद ब्याचको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।

उपभोग्य मिति कायम रहेका कच्चा पदार्थ प्रयोग भएको देखिए पनि गुणस्तरको यकिन प्रयोगशाला प्रतिवेदन आएपछि मात्र हुने विभागका निर्देशक शर्माले जानकारी दिनुभयो ।

दुई फर्मलाई जरिबाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकामा सञ्चालित दुई वटा व्यावसायिक फर्मलाई जरिबाना गरेको छ । विभागले बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्ने उद्देश्य अनुरूप बिहीबार उपत्यका र उपत्यकाबाहिर वीरगन्जमा गरी ३४ वटा व्यवसायी फर्मको अनुगमन गरेकोमा दुई फर्मलाई जरिबाना गरेको हो ।

विभागका अनुसार काठमाडौँ महानगरपालिका सुन्धारामा रहेको बोस सुज इन्डस्ट्रिज प्रालिलाई ५० हजार रुपियाँ जरिबाना गरेको छ । यसै गरी विभागको अनुगमन टोलीले टोखा नगरपालिका–धापासीस्थित केआर इन्टरप्राइजेजलाई पाँच हजार रुपियाँ जरिबाना गरेको छ ।

उक्त फर्मले सामान बेच्दा बिलबीजक नदिएको पाइएपछि जरिबाना गरिएको हो । अनुगमनमा विभागले अन्य ३२ वटा फर्मलाई सुधार गर्ने निर्देशन दिएको छ । विभागको नेतृत्वमा वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म बजारमा वस्तुको मूल्यमा पारदर्शिता सप्ताह मनाउन लागेको हो । विभागका निर्देशक नरहरि तिवारीले बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्न र उपभोक्ताको हित संरक्षण गर्न मूल्यमा पारदर्शिता हुनु अनिवार्य सर्त रहेको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर