भन्सारमा एमआरपीको तनाव एवं झन्झट हट्यो

काठमाडौं ।  भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्ने अनिवार्य व्यवस्थाका कारण उत्पन्न व्यवहारिक कठिनाइ र झन्झटलाई सम्बोधन गर्दै आयात प्रक्रियामा ठूलो सहजीकरण गरेको छ। विभागले गरेको नयाँ पत्राचारअनुसार अब आयातकर्ताले भन्सार विन्दुमा एमआरपीको स्वघोषणा गरेरै सामान छुटाउन पाउने भएका छन्।

यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०७९ चैत ३० गते सूचना जारी गर्दै नेपालमा आयात गरिने सम्पूर्ण वस्तुहरूमा पैठारीकर्ताले अनिवार्य रूपमा एमआरपी उल्लेख गर्नुपर्ने व्यवस्था गरेपछि विशेषगरी औद्योगिक कच्चा पदार्थ, मेसिनरी औजारका साथै फलफूल तथा तरकारी जस्ता नाशवान वस्तुहरूको भन्सार जाँचपासमा समस्या देखिएको थियो।

भन्सार विभागका निर्देशक भूपाल राज शाक्यद्वारा जारी गरिएको पत्रमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र आर्थिक ऐनमार्फत यस विषयमा थप स्पष्टता कायम गरिने उल्लेख छ। तत्कालको समस्या समाधानका लागि विभागले २०८० वैशाख १६ गतेको निर्णयानुसार नयाँ व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार आयातकर्ताले भन्सार विन्दुमा वस्तुको एमआरपी स्वघोषणा गर्नुपर्नेछ भने पैठारी भइसकेपछि तर बिक्री वितरण गर्नुअघि अनिवार्य रूपमा लेबल लगाएर मात्र वस्तु बिक्री गर्ने प्रतिबद्धता जनाएमा भन्सार जाँचपास गरिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर