अर्थमन्त्रीले दिक्क लागेर भने, “यहाँ इमानदार मान्छेको काम छैन”

काठमाडौं। कुनै घरानाको चाहनाअनुरूप करको दरमा परिवर्तन गरेको आरोप लागेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले त्यसको प्रतिवाद गरेका छन् । उनले  राजधानीमा आयोजित एक कार्यक्रममा मनपरी गर्न नपाएर केही व्यावसायीहरू आफूसँग रिसाएर अनावश्यक हिलो छ्याप्ने काम गरेको बताए ।

मन्त्री महतले आफूमाथि लागेको आरोपको पुष्टि गर्न चुनौतीसमेत दिए । मन्त्री महतले भने ‘म सबैसामु चुनौती दिन चाहन्छु आरोपको पुष्टि गर्न । सबै राजस्वकै कर्मचारीहरू बसेर हस्ताक्षर गरी राजस्वको दर टुङ्ग्याइएको छ, कसैको प्रभाव छैन।’ त्यसो त उनले यो बजेटमा त्यस्तो कसैको प्रभाव र दबाब नरहेको बताउँदै आएका छन् ।

आफूले इमान्दारितापूर्वक काम गरिरहेको उनले दाबी गरे । निश्चित फाइदा लिइरहेकाहरू आफूसँग रिसाएको उनले पटक पटक दोहोर्‍याएका छन् । व्यवसायी र अर्थ मन्त्रालयका कर्मचारीलाई पनि त्यस्ता आरोपबारे बुझ्न उनले पत्रकारलाई सुझाव दिए ।

उनले यो देशमा इमान्दारिताका कुनै महत्त्व नरहेको र इमान्दारको कुनै काम नरहेको देखियो भन्दै दुःखेसो गरे । ‘म चुनौती दिएर भन्छु टुँडिखेलमै गएर भन्न सक्छु निश्चित समुहले फाइदा लिएका थिए। अहिले लिन नपाएको हुन सक्छ। मन्त्री महतले भने म चुनौती दिएर भन्न चाहन्छु। इमानदार भएर काम गरेको छु। यति काम गर्दा पनि हिलो छ्याप्ने काम गरिन्छ भने यहाँ इमानदार मान्छेको काम छैन।’

आयातमा रमाइरहेका व्यापारीहरू बढी रिसाएका मन्त्री महतले उल्लेख गरे । अनधिकृत व्यक्तिको प्रवेशबारे स्पष्ट पार्दै उनले भने, “जसले विगतमा बजेट वक्तब्य टाइप गर्दै आएको थियो उसैले गरेको हो ।”

बजेटअघि मन्त्रालयमा प्रवेश नै नदिएका कारण केही व्यक्तिहरू रिसाएको मन्त्री महतको भनाइ थियो । उनले अर्को विवादित विषयबारे समेत स्पष्ट पारेका छन् । उनले भने, “संसदीय क्षेत्र विकास कार्यक्रम हो। यसलाई कोष भन्न मिल्दैन । यसमा सम्बन्धित सांसदको सुझाव मात्रै हुन्छ। सांसदले सिफारिस मात्रै गर्ने हो। यो पुँजीगत खर्च हो।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर