बढी धुवाँ फाल्ने सवारीसाधन विस्थापित गर्न निर्देशन
काठमाडौँ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले पुराना तथा बढी धुवाँ फाल्ने सवारीसाधन विस्थापित गर्न निर्देशन दिएका छन् ।
उनले दक्षिण एसियाका मुलुकमा युरो–३ मापदण्डभन्दा माथिका सवारीसाधन चल्ने गरेको उल्लेख गर्दै एक हप्ताभित्र प्रतिवेदन तयार गर्न वातावरण विभागलाई निर्देशन दिए । विश्व वातावरण दिवसका अवसरमा विभागले सोमबार आयोजना गरेको कार्यक्रममा उनले मानवीय क्रियाकलापका कारण वातावरण प्रदूषण दिनहुँ बढ्दै गएकाले नियन्त्रण गर्न सबैले आफैँबाट सुरुवात गर्नुपर्ने बताए ।
पूर्वमन्त्री गणेश साहले वातावरणको मुद्दा अब स्वास्थ्यको मुद्दा भएको बताउँदै सबै प्रकारका प्रदूषणमा प्लास्टिकको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै वातावरणसम्बन्धी विद्यमान कानुन परिमार्जन गर्न आवश्यकता रहेको औंल्याए ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव वैकुण्ठ अर्यालले मानिसका विभिन्न व्रिmयाकलापका कारण प्रकृति कुरूप बन्दै गएको बताए । विभागका महानिर्देशक शिवलाल तिवारीले वातावरण प्रदूषण नियन्त्रणका चुनौतीमध्ये प्लास्टिकजन्य प्रदूषण ठुलो चुनौतीका रूपमा रहेको बताए ।
