फागुनमा घरजग्गाको कारोबार न्यून
काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा घरजग्गा कारोबार र राजस्व संकलन दुवैमा उल्लेख्य गिरावट आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार माघको तुलनामा फागुनमा राजस्व संकलन १७.१७ प्रतिशतले घटेको हो ।
माघ महिनामा घरजग्गा कारोबारबाट ५ अर्ब ९९ लाख रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा उक्त रकम घटेर ४ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ । राजस्वसँगै कारोबार संख्या र लिखत पारितमा पनि कमी देखिएको छ । विभागका अनुसार माघमा १ लाख ५३ हजार ९ सय २० पटक घरजग्गा कारोबार भएकोमा फागुनमा १ लाख ११ हजार ४ सय ९४ पटक मात्रै कारोबार भएको छ । यता नयाँ घरजग्गा खरिदबिक्रीको तथ्यांक पनि निराशाजनक छ । माघमा ५० हजार ८ सय ३७ वटा नयाँ घरजग्गा किनबेच भएकोमा फागुनमा यो संख्या ३६ हजार ४ सय ७१ मा खुम्चिएको छ ।
चालु आर्थिक वर्षको सुरुवातदेखि नै घरजग्गा राजस्वमा अस्थिरता देखिएको छ । साउनमा ३ अर्ब २८ करोड र भदौमा ३ अर्ब १० करोड राजस्व उठेकोमा असोज र कात्तिकमा अझ गिरावट आई २ अर्ब ७४ करोड रुपैयाँमा झरेको थियो । मङ्सिर र पुसमा क्रमशः ४ अर्ब ८४ करोड र ५ अर्ब १७ करोड रुपैयाँ पुगेको राजस्व फागुनमा पुनः ओरालो लागेको हो ।
