इन्धन आपूर्तिमा कुनै अवरोध नरहेको निगमको स्पष्टोक्ति, हल्लाको पछि नलाग्न उपभोक्तासँग अनुरोध
काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त सैन्य कारबाही गरेपछि मध्यपूर्वको अवस्था तनावपूर्ण बनेसँगै नेपली पेट्रोल पम्पहरूमा सवारी साधानको लाइन लाग्न थालेको छ । विशेषगरी क्ष्रानस्थित स्ट्रेट अफ हर्मुज (जल डमरु) जस्ता प्रमुख समुद्री मार्गबाट हुने तेल ढुवानी प्रभावित हुन सक्ने आँकलनका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। इरान प्रमुख तेल उत्पादक राष्ट्रमध्ये पर्ने भएकाले यसको असर चीन, भारतलगायत आयातमा निर्भर देशहरूमा पर्न सक्ने विश्लेषण गरिएको छ।
नेपालले भने सम्पूर्ण पेट्रोलियम पदार्थ भारतबाट आयात गर्दै आएको छ। नेपाल आयल निगम ले इन्डियन आयल कर्पोरेसन (आईओसी) मार्फत प्रशोधित इन्धन ल्याउने गर्छ। भारत स्वयंले ठूलो परिमाणमा कच्चा तेल मध्यपूर्वबाट आयात गर्ने भएकाले त्यहाँको संकटले अप्रत्यक्ष प्रभाव पार्न सक्ने आशंका उपभोक्तामा देखिएको छ।
यही त्रासका कारण काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्पमा आइतबार बिहानैदेखि सवारीसाधनको लाइन देखिएको थियो। लगातार सार्वजनिक बिदा परेकाले पनि उपभोक्तामा अभावको डर बढेको अनुमान गरिएको छ। तर निगमले भने तत्काल आपूर्तिमा कुनै अवरोध नरहेको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पाइपलाइनमार्फत दैनिक आपूर्ति नियमित रूपमा भइरहेको छ र उपभोक्ताले आत्तिनुपर्ने अवस्था छैन। ‘बजारमा देखिएको भीड मनोवैज्ञानिक त्रासको परिणाम मात्रै हो’, उनले बताएका छन्।
निगमका अनुसार नेपालले आवश्यकताअनुसार अग्रिम रूपमा माग पठाउने भएकाले आपूर्ति तालिकाअनुसार इन्धन आइरहेको छ। अन्तर्राष्ट्रिय मूल्यका आधारमा भारतसँग प्रत्येक १५ दिनमा मूल्य समायोजन हुने व्यवस्था रहेकाले हालै निर्धारण भएको मूल्य अवधिभर आपूर्ति प्रभावित नहुने दाबी गरिएको छ।
निगमका तथ्यांकअनुसार नेपालमा दैनिक करिब २–२.५ हजार किलोलिटर पेट्रोल र करिब ४ हजार किलोलिटर डिजेल खपत हुन्छ। पाइपलाइनबाट ६–७ हजार किलोलिटर इन्धन आपूर्ति हुने भएकाले माग धान्न पर्याप्त रहेको निगमको भनाइ छ। आगामी निर्वाचन र सार्वजनिक बिदालाई लक्षित गर्दै थानकोट डिपो खुला राखिएको पनि निगमले जनाएको छ। पछिल्ला दिनमा काठमाडौंमा खपत दोब्बरसम्म बढे पनि सोहीअनुसार आपूर्ति व्यवस्थापन गरिएको दाबी गरिएको छ।
यसैबीच, सुरक्षालाई ध्यानमा राख्दै निगमले सवारीसाधन बाहेक जेरी क्यान, बोतल वा अन्य भाँडामा पेट्रोलियम पदार्थ बिक्री नगर्न सबै डिलरलाई निर्देशन दिएको छ। कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले अनावश्यक सञ्चयले आगलागीजस्ता जोखिम निम्त्याउन सक्ने भएकाले उपभोक्तालाई आवश्यक परिमाणमा मात्रै इन्धन खरिद गर्न आग्रह गरेका छन्। निगमले बजार अनुगमनका लागि दुई टोली खटाएको र हल्लाको पछि नलाग्न उपभोक्तासँग अनुरोध गरेको छ।
