आयल निगमद्वारा सिधा ग्यास बिक्री गर्न थालियो
काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यास (एलपीजी) को अभाव भएको गुनासो बढ्दै गएपछि सर्वसाधारणका लागि टेकुस्थित केन्द्रीय कार्यालयबाटै ग्यास बिक्री वितरण सुरु गरेको छ। विभिन्न डिलरहरूमा ग्यास नपाइएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि निगमले कार्यालय परिसरमै काउन्टर स्थापना गरी प्रत्यक्ष बिक्रीको व्यवस्था मिलाएको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार हाल नेपाल ग्यास को वितरण सुरु भइसकेको छ भने एभरेस्ट ग्यास र सुगम ग्यास का काउन्टर पनि छिट्टै सञ्चालनमा ल्याइने तयारी छ। ‘जसलाई ग्यास अत्यावश्यक छ र आफ्ना नियमित डिलरबाट पाउनुभएको छैन, उहाँहरूले खाली सिलिन्डर लिएर टेकु कार्यालयमा आए सहज रूपमा ग्यास लिन सक्नुहुन्छ’, उनले बताए।
बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भएको हल्ला चलिरहेको सन्दर्भमा निगमले भने आयात र आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। भन्सारको तथ्यांकअनुसार मागअनुसार नै एलपीजी आयात भइरहेको र आपूर्ति व्यवस्थापन सामान्य अवस्थामा रहेको निगमको दाबी छ।
