वाणिज्य बैंकहरूले व्यक्तिगत, संस्थागत मुद्दतीको ब्याज दर घटाए

काठमाडौ । एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याज दर घटाएसँगै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याज दर ५ प्रतिशतभन्दा तल झरेको छ । आज सोमबार सार्वजनिक भएको बैंकहरूको सूचनाअनुसार पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याज दर ४.८३४ प्रतिशत विन्दु कायम भएको छ ।

मङ्सिर महिनामा सो दर ५.०४०५ प्रतिशत विन्दु थियो । अहिले औसत ब्याज दर ०.२०६५ प्रतिशत बिन्दुले घटेको हो । १३ बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याज दर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशत विन्दुले घटाएका छन् । प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र  कुमारी बैंकले ०.३८ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

सात वाणिज्य बैंकहरूले (सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एसिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक) मङ्सिर महिनाकै अधिकतम ब्याज दरलाई निरन्तरता दिएका छन् । पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् ।

सबैभन्दा कम ब्याज दर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याज दर पनि मङ्सिरको तुलनामा पुसमा ०.१३ प्रतिशत विन्दुले घटेको छ । पुस महिनाका लागि पाँच वाणिज्य बैंकहरूले संस्थागत मुद्दतीको अधिकतम ब्याज दर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर